Guest post by Prasthaan
धेरै चीजहरु छन् जुन बैसाख १२ काे महाभुकम्पले उजागर गर्याे । सर्वप्रथम त हामी नेपालीहरू विपद्काे यस घडीमा जुन रुपले सामाजिक सेवामा हाेमियाैं, त्याे सानाेतिनाे कुराे थिएन । अरूकाे सहयाेगकाे प्रतीक्षा गर्नुकाे साट्टाे जसरी गाउँ गाउँ र प्रत्येक तह तप्कामा तदारुकताका साथ हातहरू जुटे, त्यसले मलाई व्यक्तिगत रुपमा ठूलै सन्तुष्टि दियाे, सायद अरूलाई पनि यही किसिमको अनुभुति भइरहेको हुनुपर्छ । मलाई सरकारकाे र विपक्षी दलका बारे त्यति बाेल्नु जरुरी लाग्दैन । राजनीतिलाई पेसा बनाएर हिँड्ने प्रवृत्तिलाई अाजसम्म "ह्या ठिकै छ, जे गरे गरून्" भन्दै परिवर्तन राेज्न हिच्किचाएका हाम्रा माैनताहरू पनि म कम दाेषी देख्दिन । तर अापतकाे यस विकराल घडीमा हामी जसरी भावनात्मक रुपमा एक भएका छाैं, याे धेरै सराहनीय छ । परिवर्तन अाजकाे अावश्यकता हाे । हामी अहिले जसरी प्रश्न गर्न सक्ने भएका छाैं, त्यसले मलाई हाैस्याएकाे छ । याे परम्पराकाे निरन्तरता नै लाेकतान्त्रिक अभ्यासकाे बलियाे उदाहरण हुन सक्छ । हामीलाई प्रश्न गर्ने अधिकार छ र हुन्छ । प्रश्न गर्न (अनुशासित ढङ्गले ) पाइँदैन भनेर काँग्रेस कम्युनिस्ट कुनैका लिखित दस्तावेजमा छैन, रहेछ भने पनि त्याे हामीलाई मान्य हुनेछैन । युवाहरूकाे शक्तिमा मलाई विश्वास छ । थाकेकाहरुले देश चलाएकाे टुलुटुलु हेरीमात्र रहनेहरू अाजकाल अलिकति चनाखा हुन थालेका छन् । देशकाे नेतृत्व कमजाेर हातमा रहेछ भन्ने अनुभुति हुन हामीलाई यत्राे ठूलाे भुकम्पकाे जरुरत पर्नु अाफैंमा दुःखदायी हाे तर कम्तिमा अब हामी जस्ता युवाहरू हचुवाकै भरमा चुनावमा भाेट हाल्नु चाहिँ हुँदैन । सामान्य जनजीविकाका प्रश्नहरू कयाैं वर्षदेखि थाँती राखिएकाे भएतापनि यी बारेमा हामीले बुलन्द रुपमा हाम्रा अग्रजहरु समक्ष अावाज उठाउन सकेनाैं । तर याे भुँइचालाे सेलाउन नपाउँदै हामी सेलाउन भने हुँदैंन । बुढाहरू सेरेमाेनियल हुने हाे, कार्यकारी हुने जिम्मा युवाहरूकाे नै हुनुपर्छ । मलाई याे वाक्यमा वैज्ञानिक अाधार छ जस्ताे लाग्छ । देश जटिल परिस्थितिमा भएकाे बेलामा गिद्दे नजरहरु लाग्नु स्वभाविक हाे । भारतीय पैसावाल मिडिया र केही नेपाली सनसनीेखेज पत्रकारिताले के जनाउँछ भने प्रेस निरपेक्ष हुँदैंन । अाफ्नाे नुनकाे साेझाे गर्नु तिनीहरुकाे धर्म थियाे, गरे । हामीले त्यसकाे सटिक उत्तर पनि दियाैं । ट्विटर, फेसबुकहरु मार्फत अन्तर्राष्ट्रिय समाज सामु लज्जित हुन पुगेका ती मिडियाहरू फेरि अाफ्नाे अाैकात देखाउँदै अर्काे अाहत देशमा क्यामेरा लिएर लम्कनेछन् । त्याे अवश्यम्भावी छ । तर हाम्राे सजकता र जुझारुपनाले मात्र यी संवेदनाहीन र गैरजिम्मेवार मानवप्रायःलाई ठेगान लगाउन सक्नेछ । मैले याे सानाे टुक्राे लेख्नुकाे मुख्य अभिष्ट अाज देखिएकाे जाेस र जाँगरलाई कायम राख्न मद्दत गर्न खाेज्नु मात्र हाे । देश चलाउन सजिलाे हुँदैंन । हामीले सधैं सजिलाे र बिन्दास पाराले देश चलेकाे पायाैं । अब याे सिलसिलाकाे क्रमभङ्गता जरुरी छ । - प्रस्थान ।
No comments:
Post a Comment