- राजु अधिकारी
काठमाडौंमा ईटाको बर्षात् भएको बेला गोर्खामा पनि गिद्ध्हरूको तान्डव चल्यो । पृथ्वी कम्पायमान भएर हाम्रो वर्तमान अनि हाम्रो ईतिहासलाई तहसनहस पारिरहँदा, भत्किदै गरेको काठमाडौंको कुनै गल्लिबाट एउटा निरिह नौजवानले फेसबुकमा इस्टाटस अपडेट गर्यो । अनि मैले पनि थाहा पाएँ, बर्षौँदेखि पशुपतिनाथलाई फूल चढाएर पन्छाइरहेको महाविपत््ले आज हामीलाई छोपि छाडेछ ।
आशुले लपक्कै भिजेका आँखाहरूमा मैले भग््नावशेषका अरू फोटाहरू, अनि थकित्, त्रसित र काँप्दै गरेका कथाहरू बाँढेर थप रोदन थप्नु न त जायज नै छ न त सहयोगी नै । म त मात्र आहवान गर्न सक्छु नेपाललाई छातीमा टाँसेर सधैँ रमाइरहने नेपालीलाई, नेपाललाई नयाँ बाटोमा लैजान ; र बाँढ्न सक्छु ती पर्दाभित्रका कथाहरू - जसले नजिक, टाढा सबैतिरबाट ती भत्किएका भित्ताभित्र हात पुर्याएका छन् ।
मेरो जन्म २०४५-५-५ गते नेपालको ईतिहासमा त्यतिबेलाको दोस्रो ठुलो भुइँचालोको दिन भएको हो । मलाई सानैदेखी लाग्थ्यो कि त्यस्तो भयङ्कर दिनमा जन्मिएको म, त्यस्तै भुइँचालोको दिन मर्न पनि सक्छु । र म मरेँ पनि । २०७२ साल बैशाख १२ गते जब धरहरा ढल्यो र जब न्यातपोल भत्कियो , म पहिलोपटक मरेँ । जब मेरो सबैभन्दा मिल्ने साथीले उसको परिवारको निकट सदस्यको शोक मनायो, म फेरि अर्को पटक मरेँ । १९ बर्षसम्म लखरलखर डुलिरहने घन्टाघर, रत्नपार्क, पुतलिसडक, न्युरोडमा आज पुरिएका उकुसमुकुस टाउकाहरू अन्तिम सास फेर्दैछन् भन्दा म फेरि कैयौँ पटक मरेँ । सधैँ कृकेट खेल्ने टुडिँखेलको बाँझो चौरमा राहत बितरण भइरहँदा, मखमली विदेशी खाटमा भासिएको मेरो शरीरले विवशताको आशु समेत बगाउन सकेन । न त टेलिफोनमा बुवाआमाको आवाज नै आयो, न त टेलिभिजनबाट कुनै आश्वासन नै । एकदिन नेपाल फर्केर देश बनाउँछु भन्ने जाँगर बोकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पारदर्शी शिशाबाट बुवाआमालाई रुँदै बाइबाइ गरेको म, आज नेपाललाई सबैभन्दा ठुलो चोट परेको दिन यति टाढा बसेर टोलाइरहँदा म फेरि एकपटक मरेँछु ।
मेरा साथीहरूको पनि उस्तै हाल थियो । जब अलि बेरपछि साहस आयो, सानोछँदा पुराणमा सुनेको पुनर्जन्मको कथा याद आयो । नयाँ बिहानीले कोल्टे फेर्न नपाउँदै हाम्रा मरेका आँखाहरू फेरि जागे । अनि एउटा त्यस्तो लहर उठ््यो - जसले भूकम्पपछिको भविष्यको दुरदर्शन गरेर नयाँ देशको कल्पना गर्यो, जसले राहत वितरणको सन्देशमा राजनीतिक अन्योलका हर्ताकर्तालाई खबरदारी गर्यो, र जसले हात फैलायो कैयौँ समुद्रपारबाट । केबल भत्केका ईटा टिप्न हैन, तिनलाई फेरि जोडेर नयाँ नेपालको निर्माण गर्न । तिनको कथा लेख्न आज दुई कारणले आवश्यक बनेको छ - एक, नेपाली मनलाई आज विश्वासको खाँचो छ र दुई, नेपाली पाइलालाई मार्गदर्शनको ।
मेरो कथा विदेशिएका ती युवाहरूको हो जसले आफ््नो दुरीलाई लाचारी हैन शक्ति बनाएर नेपाललाई एउटै मालामा जोड्ने प्रयास गरेका छन् । म त नेपालबाट टाढा, कहिले रुँदै, कहिले अठोट गर्दै, बेलाबेला विदेशी आइ. एन. जी. ओ. को खातामा पैसा भर्दै त बेलाबेला फेसबुकमा छिरेर अरूलाई सुझाव दिँदै भूकम्पको शोक मनाउँदै थिएँ । आज कसलाई पैसा पठाउने हो, आज कसरी सहयोग गर्ने हो भनेर मन अत्तालिरहन्थ्यो । साथीहरूको मेसेज आइरहन्थ्यो । कोही भन्थे आइ. एन. जी. ओ. ले पैसा खाँदैछन्, कोही भन्थे नेपालमा भएका साथीहरूलाई पैसा पठाउनु पर्छ । कोही सरकारदेखी वाक्क दिक्क ब्याक्क थिए । कोही मरेका फोटाहरू अनि भुइँचालोका भिडियोहरू हाल्दै थिए । ईन्टरनेटमा फैलिएका समाचार देख्दा लाग्यो कि त्यही बेला कोही कोही मुसुक्क हाँस्दै नचाहिने उपद्रोले ब्याप्त भएर गलत अफवा र हल्लाहरू पनि फैलाउँदै थिए । हिजोसम्म पैसा नभएर आत्तिरहेका साथीहरूले थुप्रैतिरबाट सहयोग पुर्याइसकेका रहेछन् । म पनि ठीक र बेठीक, सही र गलतको लेखाजोखा गर्दै थिएँ जब पढाइको सिल्सिलामा मजस्तै विदेशिएको एउटा पुरानो साथीको मेसेज आयो । मैले र मजस्ता अरू धेरैले कल्पना गरिरहेको टीमको स्थापना भैसकेको रहेछ । भूकम्प गएको २ दिन बित्न नपाउँदै बनेको उनको समुह “ वान स्टप पोर्टल ” (www.onestopportal.org) ले भूकम्पसगैँ उत्पन्न भएका थुप्रै समस्याहरूको एउटै वेबसाईटको माध्यमबाट समाधान गरिरहेको थियो । म फेसबुकबाट आक्रोश पोखिरहेको बेला, वान स्टप पोर्टलका साथीहरू निष्पक्ष र सही समाचार सम्प्रेशण गर्दै थिए । म एकोहोरो विदेशी संस्थालाई पैसा खन्याइरहँदा उनीहरू भत्किएका गल्लीका कुनामा पसेर कसलाई के चाहिएको छ, त्यस्को लेखाजोखा गर्दै थिए । विदेशमा रहेका युवाहरूको सँगठन, प्राविधिक दक्षता, सुरक्षित वातावरण, आर्थीक सहयोग्, सबैलाई एउटै ठाउँमा केन्दृत गरेर नेपालमा रहेका युवाहरूलाई दुर्गम क्षेत्रमा सहयोग पुर्याउन मार्गदर्शन गर्दै थिए ।
आज म यो लेख लेखिरहँदा मेरो फोन टिरिङ् टिरिङ् बजिरहेको छ । वान स्टप पोर्टल (www.onestopportal.org) को एउटा च्याट पेज छ जसमा हामी सबै टिमभित्रका साथीहरु एक अर्कासँग भूकम्पसँगको लडाईको पर्दापछाडिको टेक्निकल सम्यन्त्रको गहिरो छलफल गर्छौँ । र लागिपर्छौँ आज, अहिले, यती नै बेला, हामीबाट हुन सक्ने सहयोग सबैसामु पुर्याउन । भर्खरै च्याट्मा एउटा साथीले नेपाल राष्ट्र बैंकको नयाँ बिज्ञप्तिको जरोसम्म पुगेर कसरी नेपालमा पैसा पठाउँदा ठीक हुन्छ भन्ने विषयमा अनुसन्धान गरि भ्याएछन् । अर्का साथीले " हाऊ क्यान आइ हेल्प " (म कसरी सहयोग गर्न सक्छु) पेजको मद्ध्तले थुप्रै नेपाली र विदेशीहरूले आफुले चाहेको र आफुलाई ठीक लाग्ने संस्था, सँगठन अथवा व्यक्तिलाई सहयोग पुर्याउन सफल भएको खबर सुनाए । अर्की साथी "कहाँ" (kaha.co) पोर्टलको प्राबिधिक गतिबिधी बताउँदैछिन् । "कहाँ" पोर्टल भूकम्पको पछिल्लो घडीमा थुप्रैले प्रयोग गर्ने गरेको महत्वपुर्ण वेबसाइट बनेको छ । यसको सहयोगबाट कहाँ कसलाई के को खाँचो छ, र कोसँग कतिजना स्वयम्सेवक र के कति सामग्री छ भन्ने कुराको रेकर्ड गरी समयमै राहत पुर्याउन सजिलो बनेको छ । उज्यालो फाउन्डेसनमा हामीले यहाँँबाट जम्मा गरेर पठाएको पैसाले डाक्टारहरूले थुप्रैको ज्यान बचाइसकेको खबर पनि आयो । रेड्क्रस नपुगेको कुनामा मसँग स्कुल पढ्दाका साथीहरूले राहत बाँढेको खबरले मन गर्वले ढक्क फुल्यो । विदेशमा बसेका र नेपालमा रहेका युवाहरू बीच हिँडाइ, सोचाइ, भाषा, र भविष्यका विषयमा ठुलो अन्तर आइसकेको बेलामा, यो भूकम्पले फेरि सबैलाई एउटै खाल्डोमा खसालिदिएको छ । एकजुट नभए न त खाल्डोबाट बाहिर आउन सम्भव छ न त खाल्डो पुर्न नै ।
वान स्टप पोर्टल त एउटा उदाहरण मात्रै हो । एउटा नेतृत्वशील उदाहरण । विराट समुद्रको एक थोपा पानी । यस्ता कैयौँ थोपाहरूले बचाइरहेको छ नेपाललाई अहिले । सँगठित विद्यार्थीहरू आ-आफना बिश्वबिद्यालयका भित्तामा नेपालको झण्डा र भूकम्पका तस्बिर टाँस्दै सहयोग मागेको दृश्य देक्छु म । कसैको प्रतिक्षा नगरि आफैँ “ गो फन्ड मी ” मा अकाउन्ट खोलेर चिनिया शेना नेपाल पुग्नु पहिले नै नेपालमा राहत पठाउनेहरू पनि यहिँ छन् । कोही आफूले काम गरेको संस्थासँग हारगुहार गर्दै उठाएको रकमलाई दुगुना बनाइ नेपाल पठाउँदैछन् त कोही नेपालमा भएका आफ्ना चिनेजानेका विश्वासिला साथीहरूलाई सहयोग गर्दै, उनीहरू मार्फत् अरू लाखौँलाई मलम लगाइरहेका छन् । विदेश बसेको यत्रो बर्षमा आफ्नै घरमा पनि पठाउन नसकेको रकम आज अन्जानको सहयोगमा निसङ्कोच बाढिँरहेकाछन् । यी सबलाई मेरो हृदयदेखी नै सलाम छ ।
तर एउटा गहिरो बिन्ती पनि छ - यो भेललाई थामिन नदिऔँ, यो भेललाई रोकिन नदिऔँ । यो भुइँचालोले एउटा अवसर दिएको छ हामीलाई, फेरि एउटा नयाँ सुरुवात गर्ने । भोली कुनै बेला भुइँचालोका धक्काहरू पूर्णरुपले बन्द हुनेछन् । र मलाई डर छ, त्यो धक्का बन्द हुनासाथ हामी फेरि पुरानै बाटोमा लाग्ने छौँ । फेरि तिनै थोत्रा नेताहरूलाई अगुवा बनाउने छौँ, फेरि गलत हल्ला र मिसावटी समाचारका पछाडि भाग्ने छौँ, फेरि छिमेकीले जग्गा मिच्यो भन्दै खुकुरी लिएर अगाडि बढ्ने छौँ, फेरि छतको घाम छेकियो भन्दै आफ्नो अहमको भाँडो भर्न पिल्लर बिनाको जथाभावी सात तल्ले घर ठड्याउने छौँ, अनि नेपालमा आएको अरबौँ रकम फलानो मन्त्रीले खायो, फलानो एन. जी. ओ. ले खायो भन्दै औंला उठाउने छौँ । त्यसैले मेरो बिन्ती छ - यो भेललाई रोकिन नदिऔँ । सचेत बनौँ, सहयोगी बनौँ । वान स्टप पोर्टल जस्ता थुप्रै सँगठन होलान् सायद, र तिनीहरूको सामुहिक सहयोगले गर्दा नै अहिलेसम्म नेपालले सास फेरिरहेको छ । मैले ती सबैलाई देख्ने र नजिकैबाट नियाल्ने मौका त पाएको छैन । तर यस्ता समुहले नै त्यो भेललाई बचाइराख्ने छन् भन्ने कुरामा बिश्वस्त भएकोले, र यिनीहरूको प्रयासको सदुपयोग सबैले गरुन् र हामी सबै नेपालीहरूले भूकम्पपछिको यो प्रात:कालमा नयाँ सोचले अघि बढ्ने प्रयत्न गरौँ भनेर कलम चलाएको हुँ । स्वार्थहीन्, सँगठित युवाहरूको सचेत प्रयास नै नयाँ नेपालको जढ हो, जसले नेपाललाई हरेक किसिमका भूकम्पसँग लड्न सक्षम बनाउनेछ ।
No comments:
Post a Comment